झापामा पूजाको प्रसाद खाँदा करिब ५० जना बिरामी
झापाको अर्जुनधारा नगरपालिका–९, खरवन्डी गाउँमा पूजाको प्रसाद खाएपछि करिब ५० जना मानिस बिरामी भएका छन्। मंगलबार स्थानीय छत्र निरौलाको घरमा भएको पूजाको प्रसाद सेवन गरेका स्थानीयहरू रातिदेखि बिरामी हुन थालेको जानकारी प्राप्त भएको छ। पूर्व वडाध्यक्ष पुण्य प्रसाईँका अनुसार, बिरामी परेका मानिसहरूलाई बुधबार स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।
प्रसाद सेवन गरेपछि बिरामी परेका व्यक्तिहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने जस्ता लक्षण देखिएका थिए। धेरै बिरामीहरू बुधबार नै अस्पतालबाट डिस्चार्ज भए पनि चार पाँच जना अझै बीएण्डसी अस्पताल र शनिश्चरे अस्पतालमा उपचाररत छन्। फुड पोइजनका कारण बिरामी परेको हुनसक्ने स्थानीयको अनुमान छ।
अहिलेसम्म बिरामीको अवस्था सामान्य रहेको र स्थिति नियन्त्रणमा आएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस