उपेन्द्रको मोबाइलमा ओली–देउवाको फोन : दुवैले भने– अध्यादेश पारित गर्छौँ, सहयोग गर्नुस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेका छन् । हिजो (सोमबार) उपेन्द्रलाई ओली–देउवाले फोन गरेको जसपा स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन आग्रह गर्दै जसपाका अध्यक्ष उपेन्द्रलाई फोन गरेका हुन् ।
हिजो जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेकै बेला ओली–देउवाले फोन गरेका थिए । ती दुवैले उपेन्द्रलाई पालैपालो फोन गरेर जसरी पनि अध्यादेश पारित गर्नुपर्ने भएकोले सहयोग गर्न आग्रह गरेको स्रोतले बतायो ।
उपेन्द्रले ओली–देउवासँग फोन संवाद गरेपछि अध्यादेश अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलले आज (मंगलबार) संसदीय दलको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभामा अध्यादेश पारितका लागि जसपा निर्णायक बनेको छ । उक्त सभामा सत्तारूढ कांग्रेसका १६, नेकपा (एमाले)का १० छन् भने प्रतिपक्षी माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, जनमोर्चाका १, लोसपाका १ र राष्ट्रपतिबाट मनोनीत ३ जना गरी जम्मा २९ जना सांसद छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस