सभामुख र दलका सचेतकबीच छलफल
काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले दलका सचेतकसँग छलफल गरेका छन् ।
आज (बुधबार) दिउँसो उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उपसभामुख इन्दिरा रानासहित सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।
छलफलमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस, साझेदार नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूका प्रमुख सचेतकहरू सहभागी छन् ।
_2.jpg)
दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची र एजेण्डाबारे छलफल गरेका छन् । यहीँ माघ १८ गतेबाट संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधिसभाको बैठक एकसाथ बस्दैछन् ।
बैठकमा कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले यसअघि ल्याएका ९ वटा अध्यादेश र ३२ भन्दा बढी विधेय संसद्मा पेस गर्नसक्ने बुझिएको छ ।
तर, प्रतिपक्षी दलहरूले अध्यादेश संसद्मा टेबुल गर्न नदिने औपचारिक निर्णय गरेका छन् । यसका साथै उनीहरूले सबै अध्यादेश र विधेयक अस्विकार गर्नुका साथै सशक्त विरोध गर्ने निर्णय गरेका हुन् ।
सत्तारूढ दल कांग्रेस–एमालेले प्रतिनिधिसभाबाट अध्यादेश जबर्जस्त टेबुल गरेपनि राष्ट्रिय सभामा टेबुल हुन नसक्ने देखिन्छ । किनकि उक्त सभामा सत्तारूढ दलको संसदीय अंकगणित कमजोर छ ।



तपाईको प्रतिक्रिया दिनुहोस