Techie IT
२०८३ असार २१, आइतबार

सडक मर्मत नहुँदा सप्तरीमा धुलाम्मे यात्रा, स्थानीय आन्दोलित


राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माण गरिएको कुशहा–मौवहा–बेल्ही सडक जीर्ण हुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य भएका छन् ।

सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहका अनुसार कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको छ। वर्षाको समयमा हिलो र हिउँदमा धुलोका कारण यात्रुहरूलाई समस्या भइरहेको छ ।

विसं २०७६ मा निर्माण सम्पन्न भएको करिब १६.५ किलोमिटर लामो यो सडकको मर्मतबिना नै जीर्ण बनेको छ । बलानबिहुल गाउँपालिका–१ का रासिन्द्र यादवले सडक छेउका घरहरू धुलाम्मे भएको र स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको बताए ।

बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले शीघ्र मर्मत नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृत सञ्जीवनी जेभी काठमाडौँ कम्पनीलाई रु ११ करोड १ लाख ७९ हजार ५५२ मा ठेक्का दिएको थियो। तर ग्राभेल मात्र सकेर निर्माण अधुरै छाडिएको स्थानीय राजाराम यादवले बताए ।

सडक छेउमा वृक्षरोपण गर्ने योजना रहे पनि चरम लापरबाहीका कारण यो कार्य पनि अलपत्र परेको छ। सफाइ नहुँदा बनमारा झाडी उम्रेर सडक कुरुप देखिएको छ ।

२०७५ कात्तिक १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी ले छानबिन अघि बढाएपछि निर्माण कम्पनीले कालोपत्र गरेको थियो। तर, स्थानीयका अनुसार काम गुणस्तरीय नभएकै कारण केही वर्षमै सडक जीर्ण भएको छ ।

निरन्तरको बेवास्ताले स्थानीयवासी अन्योलमा छन् । अधुरो निर्माणका दोषी को? सरकारी अनुगमन किन नगरेको? र समस्या समाधान कहिले? यी प्रश्नहरू अहिले स्थानीय बासिन्दामाझ उठिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट