राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणप्रति सांसदहरूको गम्भीर आपत्ति

राष्ट्रियसभाका सांसदहरूले स्थानीय तहका जनप्रतिनिधिबाट राष्ट्रसेवक कर्मचारीमाथि भइरहेको भौतिक आक्रमण तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले कर्मचारीहरू नै जनप्रतिनिधिबाट असुरक्षित बन्नु गम्भीर विषय भएको भन्दै तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।
सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका–६ मा जनप्रतिनिधिबाट कर्मचारीमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै छानबिनको माग गरे। अर्की सांसद मनरुपा शर्माले पनि सोही घटनाको कडा विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।
त्यस्तै, सांसद रेणु चन्दले समाजमा रहेका सबै प्रकारका विभेद अन्त्य गर्न र विभेद गर्नेहरूमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत् लगायतका संरचना निर्माणमा अन्तरनिकाय समन्वय आवश्यक रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी र सावित्री मल्लले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्यु घटनाबारे गहिरो छानबिन गर्न सरकारलाई तत्काल पहल थाल्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस