पोर्चुगलको लिस्बनमा नेपाली दूतावास स्थापना, घुम्ती सेवा सुरु

लिस्बन – पोर्चुगलको राजधानी लिस्बनमा नेपाली दूतावास स्थापना भएको छ। दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गर्दै सेवा प्रदान गर्न सुरु गरेको छ ।
फ्रान्सस्थित नेपाली दूतावासको सहकार्यमा लिस्बन दूतावासले घुम्ती सेवा सुरु गरेको छ, जसअन्तर्गत राहदानी वितरण र कागजात प्रमाणीकरणजस्ता कन्सुलर सेवा प्रदान गरिँदैछ। शुक्रबारदेखि सुरु भएको सेवाबाट हालसम्म करिब २०० कागजात प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ ।
शिविर अवधिभर दूतावासले प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायतका कागजात प्रमाणीकरण सेवासमेत दिनेछ । यसअघिको शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका व्यक्तिहरूले पनि तयार राहदानी प्राप्त गर्न सक्नेछन् ।
कार्यवाहक राजदूत रामबाबु नेपालका अनुसार, "लामो समयदेखि पोर्चुगलवासी नेपालीले भोग्दै आएको कागजात प्रमाणीकरण र राहदानी सेवामा देखिएको समस्या समाधानका लागि घुम्ती सेवा सुरु गरिएको हो । स्थायी कार्यालयका लागि भवन खोजी भइरहेको छ ।"
दूतावासले फागुन १४ गते (फेब्रुअरी २६) सम्म घुम्ती सेवा जारी राख्नेछ भने त्यसपश्चात नियमित सेवा प्रवाह गर्ने बताइएको छ ।
पोर्चुगलमा दूतावास स्थापना भएपछि स्थानीय नेपाली समुदायमा उत्साह देखिएको छ । दूतावास नहुँदा सेवा लिन स्पेन वा फ्रान्स जानुपर्ने बाध्यता अन्त्य भएको छ। पोर्चुगलमा करिब ६० हजार नेपाली बसोबास गरिरहेका छन् भन्ने दूतावासको अनुमान छ ।
पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनमै लिस्बन पुग्ने र त्यसपछि दूतावासले पूर्ण क्षमतामा सेवा दिने कार्यवाहक राजदूत नेपालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस