Techie IT
२०८२ वैशाख २७, शनिबार

पाथिभारामा जनविरोधबीच केबलकार निर्माण, सांसदहरूको तत्काल रोकको माग


ताप्लेजुङस्थित पाथिभारा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै सांसदहरूले तत्काल निर्माण कार्य रोक्न सरकारलाई माग गरेका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले पाथिभारा धार्मिक स्थलको संरक्षणलाई ध्यानमा राख्दै बल प्रयोग नगरी वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्रप्रसाद लिङ्देनले व्यापारीको स्वार्थ पूर्ति गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको आरोप लगाउँदै भने, “सरकारी पहलमै पाथिभारा क्षेत्र व्यापारीको हातमा सुम्पन खोजिएको छ ।” उनले जनताको चाहना बेवास्ता गर्दा झडपको अवस्था सिर्जना भएको बताए ।

सांसद योगेश भट्टराईले केबलकार विवादलाई वार्ता र संवादबाट टुंग्याउन आग्रह गरे । सांसद तोसिमा कार्कीले विवादरहित समाधान खोज्न सरोकारवालासँग छलफल आवश्यक रहेको उल्लेख गर्दै बल प्रयोग रोक्न सरकारलाई आग्रह गरिन् ।

यसैबीच, बैठकमा विभिन्न मुद्दामा सांसदहरूले ध्यानाकर्षण गराए। सांसद पदम गिरीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए । सांसद रघुजी पन्तले १५०० नेपाली विद्यार्थीमध्ये ५०० भन्दा बढी फर्किरहेको उल्लेख गर्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न माग गरे ।

सांसद महेश बस्नेतले मेची राजमार्गको सडक दुर्घटना न्यूनिकरणका लागि सडक विस्तार आवश्यक रहेको बताए । सांसद रामप्रकाश चौधरीले सर्लाहीमा जंगली हात्तीले मकै र केराखेती नष्ट गरेको भन्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

सांसद माधव सापकोटाले सुशासन अभावले नेपाल ‘ग्रे लिस्ट’ मा परेको बताए भने सांसद ईश्वरीदेवी न्यौपानेले लोकतन्त्रमाथि प्रहार सैह्य नहुने बताए ।

सरकारले उठेका मागप्रति चाँडै निर्णय लिने बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट