Techie IT
२०८२ फागुन ६, बुधबार

विदेशबाट फर्किने नेपालीको सुन र सामग्रीको स्रोत खोजिनुपर्ने : भन्सार महानिर्देशक भट्टराई


भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याउने सुन, मोबाइल, ल्यापटप र क्यामेरालगायत सामग्रीको आर्थिक स्रोत खोजिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा बोल्दै भट्टराईले मुख्यतः दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको उल्लेख गरे । “झिटीगुण्टा कानुनले महिलालाई ५० ग्राम र पुरुषलाई २५ ग्राम सुन ल्याउन दिने व्यवस्था छ । तर, एक हप्ता घुम्न गएकाहरू दोब्बर मूल्यका सामग्री ल्याउने प्रवृत्ति बढेको छ,” उनले भने ।

भट्टराईका अनुसार दुबई र हङ्कङका विमानस्थलबाट सुन पठाउने गिरोह सक्रिय छन् । “नेपालबाट जानेले अमेरिकी डलर २५०० बराबर मात्रै लिएर जान्छन्, फर्किंदा डलर ५००० बराबरको सुन ल्याउँछन्,” उनले भने, “कानुनले मापदण्डभित्रको सुन वैध माने पनि आर्थिक स्रोत नखुले तस्करीकै रूपमा बुझ्न सकिन्छ ।”

महानिर्देशक भट्टराईले झिटीगुण्टाका नाममा दैनिक वैधभन्दा बढी सुन नेपाल भित्रिने गरेको उल्लेख गरे । “त्रिभुवन विमानस्थलमा काम गर्दा दैनिक २२ किलोसम्म सुन झिटीगुन्टाका रूपमा आएको देखेँ। त्यो सुन अधिकांश बजारमै पुग्छ,” उनले थपे ।

बैठकमा सभापति सन्तोष चालिसेले वैध सुन ल्याउने यात्रुलाई भन्सार कर्मचारीले अनावश्यक दुःख दिने गरेको गुनासो बढेको बताए । जवाफमा भट्टराईले वैध सामग्रीको समेत स्रोत जाँच्नुपर्ने बताए ।

बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि छलफल भयो । सांसद महेशकुमार बर्तौलाले आन्तरिक व्यापार सहज बनाउने प्रावधान राख्न जोड दिए। अन्य सांसदहरूले छिटो छलफल टुंग्याउन आग्रह गरे ।

सरकारले क्योटो महासन्धि र विश्व व्यापार संगठनको सहजीकरण सम्झौतालाई पालना गर्न भन्सार ऐन संशोधन अघि बढाएको हो । महासन्धिअनुसार नेपालले तीन वर्षभित्र सामान्य र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड लागू गर्नुपर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट