Techie IT
२०८२ असोज ४, शनिबार

सैनिकमञ्च टुँडिखेलमा सेना दिवस मनाइँदै


काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

त्यस अवसरमा सैनिकमञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् ।

राष्ट्रको संस्कृति र परम्पराका रूपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए । 

त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा सांगीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।

सेना दिवसका अवसरमा आयोजित पृतना समन्वय बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिकापनमा जोडदिए । उनले भने, ‘सेनाको व्यावसायिकता अभिवृद्धि गरी देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्छ ।’

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउँदैछन् । उनीहरू नेपाली सेनाका मानार्थ महारथी समेत हुनेछन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट