एमालेले जनसङ्गठनको केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका जनसङ्गठनहरूको केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसङ्गठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसङ्गठनको केन्द्रीय कमिटी ९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेलले अब हुने महाधिवेशनदेखि जनसङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाइएको बताए । उनका अनुसार, जनसङ्गठनका पदाधिकारी सङ्ख्या पनि घटाइएको छ। यसअघि १७ पदाधिकारी रहने व्यवस्था थियो भने अब अध्यक्ष १, उपाध्यक्ष २ (जसमध्ये एक महिला), महासचिव १, उपमहासचिव १, सचिव ३ (प्रचार, विदेश विभाग र सङ्गठन हेर्ने गरी), तथा कोषाध्यक्ष १ जना रहने निर्णय गरिएको छ ।
पार्टीको निर्णयअनुसार अब जनसङ्गठनमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहनेछ। यसअघि रहेका स्थायी कमिटीको व्यवस्था हटाइएको महासचिव पोखरेलले जानकारी दिए । बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गरेको छ।
पार्टीले प्रदेश र स्थानीय तहमा एमाले विजयी भएका स्थानहरूमा नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्ने निर्णय गरेको छ। साथै, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, र उपाध्यक्षहरूको राष्ट्रिय भेला आगामी चैत महिनामा गर्ने निर्णय गरिएको छ । प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक, प्रदेश पदाधिकारी तथा इन्चार्जसहित संयुक्त भेला गरी नीति, कार्यक्रम तथा बजेटबारे छलफल गरिने भएको छ।
बैठकले पार्टीका नेताहरूको विदेश भ्रमणका लागि नयाँ मापदण्ड बनाएको छ। अब विदेश भ्रमण गर्नुअघि पार्टीबाट अनुमति लिनुपर्ने, भ्रमणको प्रयोजनबारे स्पष्ट जानकारी दिनुपर्ने, र फर्किएपछि पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बैठकले एमालेको ७६औं स्थापना दिवसका अवसरमा प्रत्येक प्रदेशबाट एक-एक जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटीले मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत, र अमर विकको नाम अनुमोदन । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकार परियोजनालाई अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह । पाथीभरा मन्दिर केबुलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि स्थानीय जनप्रतिनिधि, प्रशासन, र सरोकारवाला समूहसँग छलफल गर्ने निर्देशन । पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालकी धर्मपत्नी शान्ति वडालको निधनमा श्रद्धाञ्जली।
बैठक एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस