सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन् : प्रचण्ड

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए । अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।
उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरु जनताको बीचमा आएको स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । यो मार्ग तराई मधेसको जीवन रेखा बन्ने र यसले दक्षिण नेपालको रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस