कुलमान घिसिङको पदमुक्तविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने तयारीमा विपक्षी

काठमाडौं । विपक्षी दलहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बैठक बसेको छ ।
आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको उक्त बैठकमा विपक्षी दलहरूले संसद् बैठकमा सशक्त प्रतिवाद गर्ने तयारी गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रैबार प्रेसलाई जानकारी दिए ।
विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विपक्षी दलहरूले संसद्मै प्रतिवाद गर्ने तयारी गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् हिजो (मंगलबार) प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरिएको छ ।
उनले हिजो नै पदभार ग्रहण गरिसकेका छन् भने कुलमान न्यायका लागि सर्वोच्च अदालत जाने तयारीमा छन् ।
कुलमानलाई सरकारले पदमुक्त गरेपश्चात् काठमाडौंमा उनका समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस