भट्टराईको कटाक्ष: "प्रचण्डको राजतन्त्र प्रतिको नरमपन बिरालोको म्याँउ"
नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीचको हालैको संवादप्रति कडा टिप्पणी गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् भट्टराईले आफ्नो पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रप्रति नरम अभिव्यक्ति दिएको मिश्रको दाबीमाथि कटाक्ष गरेका हुन्।
भट्टराईले प्रचण्डको पछिल्लो धारणा ‘निरन्तरतामा क्रमभंगता’ भन्ने अभिव्यक्तिको पृष्ठभूमिमा प्रचण्डले राजतन्त्रप्रति नरम भएको मिश्रको भनाइप्रति व्यंग्य गर्दै भनेका छन्, “माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखेका सबैलाई थाहा छ—अहिलेको ‘बिरालो म्याँउ गरेकै हो’, किनकि प्रचण्डको वास्तविकता त्यही हो।” यस टिप्पणीले भट्टराई र प्रचण्डबीचको पुरानो वैचारिक मतभेदलाई पुनः सतहमा ल्याएको छ।
माओवादी आन्दोलनभित्रको संघर्ष
माओवादी युद्धकालमा प्रचण्ड र भट्टराईबीच राजतन्त्रसँग सहकार्य गर्ने कि संसदवादी दलहरूसँग सहकार्य गर्ने भन्नेबारे चर्को विवाद थियो। भट्टराईको धारणा थियो कि राजतन्त्रविरुद्ध संसदवादी दलहरूसँग सहकार्य गरेर संघर्ष अघि बढाउनुपर्छ, तर प्रचण्डको लाइन भने राजतन्त्रसँग मिलेर संसदवादीहरूलाई केन्द्रमा राखेर संघर्ष गर्नुपर्नेमा थियो। माओवादीभित्रै केही शीर्ष नेताहरूले प्रचण्डलाई ‘राजापरस्त’को आरोप लगाउँदै आएका थिए। यही पुरानो विवादलाई पुनः उठाउँदै भट्टराईले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आलोचना गरेका छन्।
मिश्र र प्रचण्डको भेटघाट
रवीन्द्र मिश्रले मंगलबार बिहान प्रचण्डसँग भएको भेटमा प्रचण्डको भनाइ उद्धृत गर्दै भनेका थिए, “द्वन्द्वका बेला मेरा केही साथीहरू राजसंस्थाका बारे पूरै नकारात्मक थिए, म त देशको हित हुन्छ भने राजासँग मिलेर गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।” मिश्रको यस भनाइले प्रचण्डको बदलिंदो दृष्टिकोणको संकेत दिएको ठानिएको छ।
भट्टराईको चेतावनी
डा. भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी लोकतन्त्र जस्ता उपलब्धिहरू नेपाली जनताको संघर्षको परिणाम भएको उल्लेख गर्दै भनेका छन्, “यी उपलब्धिहरू कुनै महापुरुषको पौरख वा अदृश्य शक्तिको निगाहबाट प्राप्त भएका होइनन्, यी जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको परिणाम हुन्।” उनले प्रचण्डप्रति इङ्गित गर्दै थपे, “केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोस्न सकिँदैन, र खोस्न दिनु हुँदैन!”



तपाईको प्रतिक्रिया दिनुहोस