Techie IT
२०८२ भाद्र २९, आइतबार

ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ : एमाले नेतृ उषाकिरण

‘मिसन ८४’ जस्ता नाराले मात्रै नभई अहिले पार्टी के गर्दैछ भन्ने मुख्य विषय भएको भन्दै उनले कार्यक्रमभन्दा व्यवहारमा गम्भीर हुने बेला आएको संकेत गरेकी छन् ।


नेकपा एमाले केन्द्रीय कमिटी बैठकको अन्तिम दिन नेतृ उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब नेतृत्व निसर्त हस्तान्तरण गर्न सुझाव दिएकी छन् । अध्यक्ष ओलीले दुई कार्यकाल नेतृत्व गरिसकेको उल्लेख गर्दै उनले अब पुस्तान्तरणको समय आएको बताइन् ।

तीन मिनेटको निर्धारित समयमा धारणा राख्दै तिम्सेनाले भनिन्, “वर्तमान अध्यक्षले पर्याप्त अवसर पाइसक्नुभयो, अब नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनकै एक विषय हो ।” उनले अध्यक्ष चयनमा आपसी समझदारी भए पनि पार्टी कमिटीको मातहतमा नेतृत्व सञ्चालन हुने सुनिश्चित गर्नुपर्ने बताइन् ।

तिम्सेनाले महासचिव शंकर पोखरेल र अध्यक्ष ओलीका मौखिक प्रतिवेदनप्रति आलोचनात्मक समर्थन जनाउँदै भनिन्, “पार्टीको शीर्ष नेतृत्वले लेखित प्रतिवेदनसमेत पेस गर्न नसक्ने अवस्था शोभनीय होइन।” उनले पार्टीभित्र प्रस्तुत गरिएका दाबीहरू समाजमा मेल नखाने बताउँदै त्यो गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिन्।

विधानमा व्यक्ति विशेषलाई हेरेर परिवर्तन नगरिनु पर्ने भन्दै उनले संगठन सुदृढ हुने गरी स्पष्ट र स्थायी प्रावधान ल्याउन आग्रह गरिन्। त्यस्तै, संगठित सदस्यताको हक फौज्दारी अभियोग नलागी नखोसिन सकिने व्यवस्थाका लागि पनि उनले जोड दिइन्।

राजसंस्थाप्रतिको समर्थनमा काठमाडौँमा भइरहेका प्रदर्शनहरूलाई एमाले नेतृत्वले गम्भीरतापूर्वक नलिएको आरोप पनि तिम्सेनाले लगाएकी थिइन् । उनले भनिन्, “प्रतिगमनका स्वरहरू सडकमा उत्रिँदा नेतृत्वले त्यो गम्भीरताका साथ नलिएको देखिन्छ ।”

पार्टी सधैँ ‘घेराबन्दी’ मा रहेको भनिए पनि त्यो घेराबन्दी तोड्न नसक्नु आश्चर्यजनक भएको बताउँदै उनले आलोचना गरिन् । “सरकारमा हुँदा पनि घेराबन्दी, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी ? यति ठुलो संगठनात्मक क्षमता भएको एमालेले किन तोड्न सक्दैन?” तिम्सेनाले कडा प्रश्न गरिन् ।

‘मिसन ८४’ जस्ता नाराले मात्रै नभई अहिले पार्टी के गर्दैछ भन्ने मुख्य विषय भएको भन्दै उनले कार्यक्रमभन्दा व्यवहारमा गम्भीर हुने बेला आएको संकेत गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट