त्रिविका चार विभागको अत्यधिक शुल्कविरुद्ध अनेरास्ववियू (क्रान्तिकारी) आन्दोलनमा

त्रिभुवन विश्वविद्यालयअन्तर्गत हालै केन्द्रीय विभागमा गाभिएका चार विभागमा अत्यधिक शुल्क लिइएको भन्दै अखिल (क्रान्तिकारी), त्रिवि जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।
मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत रहेका International Relations and Diplomacy (IRD), Conflict, Peace and Development Studies (CPDS), Social Work र Gender Studies विभागलाई हालै केन्द्रीय विभागमा समावेश गरिएको हो । तर, गाभिएपछि पनि ती विभागहरूले अघिको निजी कार्यक्रमको ढाँचामा शुल्क असुलिरहेकाले विरोध सुरु गरिएको विद्यार्थी संगठनले जनाएको छ।
आन्दोलनको पहिलो चरणस्वरूप बिहीबारदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि शान्तिपूर्ण धर्ना सुरु गरिएको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले "शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ", "गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली" लगायतका नारासहित विरोध जनाएका छन् ।
आन्दोलन संयोजक मनिष चम्लागाईँले भने, “केन्द्रीय विभागमा गाभिएका यी चार विभागमा अझै निजी कार्यक्रमसरह शुल्क असुलिनु शुद्ध आर्थिक शोषण हो। शुल्क नघटाइए आन्दोलन थप सशक्त बनाइनेछ।”
उनका अनुसार, त्रिवि प्रशासनलाई असार ३१ गते नै १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको थियो । तीमध्ये प्रमुख माग शुल्क समायोजन रहेको छ । संगठनले विश्वविद्यालय प्रशासनलाई १० दिने अल्टिमेटम दिएको थियो । तर समयसीमा बितिसक्दा पनि माग सम्बोधन नभएकाले चरणबद्ध आन्दोलन सुरु गरिएको चम्लागाईँले बताए ।
विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न चेतावनी दिँदै माग पूरा नभए आन्दोलनको दायरा विस्तार गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस