माइक्रोसफ्टका सेवा विश्वभर अवरुद्ध : आउटलुक, टिम्स र कोपाइलटमा समस्या
प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न अनलाइन सेवाहरू विश्वभर प्रभावित भएका छन् । माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, माइक्रोसफ्ट टिम्स र कोपाइलटसहितका महत्वपूर्ण सेवामा बिहीबारदेखि प्राविधिक समस्या देखिएको हो ।
प्रयोगकर्ताहरूले सेवा लग-इन गर्न र कनेक्ट हुन समस्या भइरहेको गुनासो गरेपछि कम्पनीले अवरोधको कारण पत्ता लगाउन अनुसन्धान तथा मर्मत सुरु गरेको छ ।
इन्टरनेट सेवा अवरोध (आउटेज) सम्बन्धी विवरण सार्वजनिक गर्ने वेबसाइट 'डाउनडिटेक्टर' का अनुसार बिहीबार दिउँसोदेखि माइक्रोसफ्टका सेवामा समस्या देखिएको भन्दै हजारौँ गुनासो दर्ता भएका थिए । विशेषगरी आउटलुक, माइक्रोसफ्ट ३६५, टिम्स, कोपाइलट, एज्युर, वानड्राइभ र माइक्रोसफ्ट स्टोरमा प्रयोगकर्ताले समस्या भोगेका हुन् ।
माइक्रोसफ्टले आफ्नो एडमिन सेन्टरमार्फत सूचना जारी गर्दै एक्सचेन्ज अनलाइन, टिम्स, सेयरपोइन्ट अनलाइन, कोपाइलट र माइक्रोसफ्ट डिफेन्डर एक्सडीआरलगायतका सेवामा पहुँच नपुग्न सक्ने जानकारी दिएको छ ।
सर्भर बन्द हुँदा अन्य प्रणालीमा अत्यधिक भार
कम्पनीका अनुसार अमेरिकी पूर्वी समयअनुसार बिहीबार दिउँसो १ः२६ बजेदेखि मुख्य समस्या सुरु भएको थियो । सुरुमा विभिन्न क्षेत्रका पूर्वाधारमा अत्यधिक भार (ट्राफिक) परेका कारण सेवा प्रभावित भएको अनुमान गरिएको थियो । तर, पछि कम्पनीले केही सर्भर अप्रत्याशित रूपमा बन्द हुँदा त्यसको चाप बाँकी सर्भरमा पर्न गई समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ ।
माइक्रोसफ्टले सामाजिक सञ्जाल 'एक्स' मार्फत भनेको छ, "पूर्वाधारमा बढेको भार प्रयोगकर्ताको चापले नभई केही सर्भर अप्रत्याशित रूपमा अनुपलब्ध हुँदा सिर्जना भएको हो । प्रभावित सर्भरलाई सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ ।"
समस्या समाधानका लागि कम्पनीले तत्कालका लागि नयाँ प्रणाली विस्तार गर्ने कार्य स्थगित गरेको छ । विश्वभरका पूर्वाधारमा ट्राफिक पुनः वितरण गर्नुका साथै प्रभावित प्रणालीबाट अन्य सर्भरतर्फ ट्राफिक स्थानान्तरण (रि-राउट) भइरहेको कम्पनीले जनाएको छ । सुरुमा अमेरिकाका विभिन्न क्षेत्रमा देखिएको यो समस्या पछि विश्वभरका प्रयोगकर्तामा फैलिएको थियो ।
यसअघि बिहीबार बिहानै माइक्रोसफ्ट टिम्समा छुट्टै प्राविधिक समस्या देखिएको थियो । अमेरिकी पूर्वी समयअनुसार बिहान ९ः४५ देखि १०ः५३ बजेसम्म उत्तर र दक्षिण अमेरिकाका प्रयोगकर्ताले सन्देश पठाउन र प्राप्त गर्न समस्या भोगेका थिए । पूर्वाधारमा स्रोतसाधनको अत्यधिक प्रतिस्पर्धा (रिसोर्स कन्टेन्सन) का कारण उत्पन्न उक्त समस्या समाधान भइसकेको माइक्रोसफ्टले जनाएको छ । यद्यपि, बिहानको उक्त समस्या र पछिल्लो बृहत् अवरोधबीच सम्बन्ध रहे–नरहेको कम्पनीले खुलाएको छैन ।
नोभेम्बर १२ को साँझ ६ः५७ बजे (अमेरिकी पूर्वी समय) अद्यावधिक विवरण सार्वजनिक गर्दै माइक्रोसफ्टले केही प्रभावित सर्भर पुनः सञ्चालनमा ल्याएपछि सेवामा आंशिक सुधार देखिएको जनाएको छ ।
समस्या पूर्ण रूपमा समाधान गर्न केही सर्भरमा हालै गरिएका 'कन्फिगरेसन परिवर्तन' उल्ट्याउने विषयमा समेत अनुसन्धान भइरहेको कम्पनीले उल्लेख गरेको छ । माइक्रोसफ्टका अनुसार पुनः सञ्चालनमा ल्याइएका सर्भरहरू स्थिर अवस्थामा छन् भने प्रयोगकर्ताले आफ्ना एप्लिकेसन रि-कनेक्ट गर्दा सेवा क्रमिक रूपमा सामान्य बन्दै जानेछ । यद्यपि, सबै सेवा पूर्ण रूपमा कहिलेसम्म सुचारु हुन्छन् भन्नेबारे कम्पनीले कुनै समयसीमा तोकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस