७० वर्षे सीमा हटाउन खोज्नेहरूलाई कर्ण थापाको चेतावनी: सिद्धान्त छाडेर पद लिने हो?

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र चलिरहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा सम्बन्धी बहसको सन्दर्भमा आज (शनिबार) फेसबुकमा लगतार तीन वटा स्टाटस लेख्दै आफ्ना धारणा सार्वजनिक गरेका छन्।
थापाले पार्टीका औपचारिक बैठकहरूमा कार्यकारी पदमा ७० वर्ष उमेर नाघेपछि र दुई कार्यकालपछि बस्न नपाउने नीति हटाउन नहुने स्पष्ट मत राख्दै आएका छन्। आज लेखिएका तीनवटै स्टाटसमा उनले आफू यो धारणामा अडिग रहेको र महाधिवेशनसम्म बहसलाई निरन्तर अघि बढाउने संकेत गरेका छन्।
आजको अन्तिम स्टाटसमा थापाले अध्यक्ष केपी शर्मा ओलीले लेखेको पुस्तक ‘जबज र पार्टीको लोकतान्त्रीकरण’ को प्रसंग उठाउँदै लेखेका छन्,
"यस पुस्तकलाई सकेसम्म गहिरिएर पढ्नू। अनि बहसमा आउनू। यदि पुस्तकका मान्यता आत्मसात् गरिएको भए आजको बहस व्यक्ति केन्द्रित नहुनथ्यो, नेपाली विशेषताको समाजवाद केन्द्रमा हुने थियो। गाली गर्नेहरूले ठाउँ नै पाउँदैनथे। गाली गरेको आधारमा पद पाइँदैन कि भन्ने डरले सत्य छोड्न त सकिँदैन है।"
तपाईको प्रतिक्रिया दिनुहोस