स्ववियु चुनावअघि अखिल (क्रान्तिकारी) भित्रै झगडा, नेता भट्ट माथि इँटा प्रहारगर्दा गम्भीर घाइते
गम्भीर चोट लागेका नेता भट्टको हाल कैलालीस्थित मायामेट्रो अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ। विभिन्न दलसम्बद्ध विद्यार्थी संगठनहरू चुनावी तयारीमा जुटिरहेका बेला नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) भने आन्तरिक द्वन्द्वमा रुमल्लिएको छ। संगठनभित्रको विवाद अहिले साङ्घातिक हमलासम्म पुगेको छ।
नेकपा (माओवादी केन्द्र) कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा आज दिउँसो अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताबीच स्ववियु निर्वाचनसम्बन्धी छलफल भइरहेको थियो। छलफलकै क्रममा विवाद चर्किएपछि अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा केन्द्रीय उपमहासचिव रामचन्द्र भट्टमाथि आफ्नै संगठनका नेता भुवन विष्टले करिब आधा किलो तौलको इँटाले टाउकोमा प्रहार गरेका हुन्।
गम्भीर चोट लागेका नेता भट्टको हाल कैलालीस्थित मायामेट्रो अस्पतालको आइसियुमा उपचार भइरहेको छ। आक्रमणकारी भुवन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त घटनापछि माओवादी केन्द्र कञ्चनपुर जिल्ला समितिले तत्काल विज्ञप्ति जारी गर्दै भुवन विष्टलाई आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको जनाएको छ। पार्टीले अनुशासनहीन, अराजक र आन्तरिक एकता भंग गर्ने व्यक्तिसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
स्ववियु चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू एकताबद्ध भएर मैदानमा लाग्नुपर्ने समयमै अखिल (क्रान्तिकारी) आन्तरिक झगडामा फस्नु संगठनको कमजोरीका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस