Techie IT
२०८२ श्रावण १७, शनिबार

प्रचण्ड–जनार्दन टकराव उत्कर्षमा, माओवादी स्थायी कमिटीको बैठकले ल्याउला समाधान कि चर्काउनेछ विवाद?


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको राजनीतिक द्वन्द्व यतिबेला चुलिएको छ। यही टकरावको छायामा आज (शुक्रबार) पार्टीको स्थायी कमिटी बैठक बस्दैछ।

बैठकले ‘आन्तरिक एकता मजबुत तुल्याउने’ एजेन्डा तय गरे पनि प्रचण्ड–जनार्दनबीचको सम्बन्ध बिग्रँदो क्रममा छ। पार्टीभित्र मात्र होइन, अन्य दल र राजनीतिक विश्लेषकहरूबीच पनि यो अन्तरसंघर्षको असरबारे चासो बढेको छ।

जनार्दन निकट नेताहरूका अनुसार, अध्यक्ष प्रचण्डले पटक–पटक जनार्दनलाई पार्टी छाड्न सुझाव र दबाब दिँदै आएका छन्। जवाफमा जनार्दनले प्रचण्डकै नेतृत्वमाथि प्रश्न उठाउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र निर्वाचनको माग गर्दै आएका छन्।

प्रचण्ड र जनार्दनबीचको टकरावको मूल कारण नेतृत्वको धारणा, पद बाँडफाँट र संगठनभित्रको प्रभाव हो। प्रचण्डले पार्टीलाई आफ्नो पकडमा राख्न खोजेको, राज्य संयन्त्र प्रयोग गरेर जनार्दनलाई कमजोर पार्न खोजिएको आरोप जनार्दन समूहको छ।

महाधिवेशनको तयारी र सम्भावित पार्टी एकताको सन्दर्भले पनि तनाव थपेको छ। जनार्दन पक्षले प्रचण्डले महाधिवेशन टार्न एकता प्रक्रिया अघि सारिरहेको आरोप लगाएको छ।

दुई नेताबीचको वैमनस्यता हालसालै झनै खुल्दै गएको छ। प्रचण्डले चौरजहारीको सभामा दिएको ‘एकाध नेता विचलित भएर गएकाले केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति जनार्दनप्रति लक्षित थियो। जवाफमा जनार्दनले प्रचण्डलाई ‘निरंकुशता र आदेशको राजनीति’ गर्दै आएको आरोप लगाएका छन्।

पुष्पलाल जयन्तीको सन्दर्भमा पनि दुबै नेताले एक–अर्कामाथि कडा कटाक्ष गरेका थिए । जनार्दनले पार्टीभित्र ‘जनवाद शून्य’ रहेको आरोप लगाए भने, प्रचण्डले उनलाई ‘दलालहरूको प्रोभोकेसनमा लागेको’ भन्दै जबाफ फर्काएका थिए ।

प्रचण्डको निरन्तर नेतृत्वविरुद्ध जनार्दनले पार्टीमा रूपान्तरण र निर्वाचनको माग गर्दै जनवर्गीय संगठनहरूमा पकड बनाउँदै आएका छन्। पार्टीभित्रको बहस अब नेतृत्व र संरचनात्मक परिवर्तनतिर मोडिएको देखिन्छ।

सामाजिक सञ्जाल र संगठनगत तहमा पनि दुई ध्रुवीय लाइन स्पष्ट देखिन थालेको छ। कोशी, कर्णाली प्रदेशका केही संरचना तथा वाइसिएल र अखिल क्रान्तिकारीमा जनार्दन पक्ष बलियो देखिएको छ।

आजको स्थायी कमिटी बैठकले प्रचण्ड–जनार्दन विवाद समाधानतिर मोडिन्छ कि झनै टकराव उचाल्छ भन्ने कुराले माओवादी राजनीतिमा नयाँ मोड ल्याउनेछ। विश्लेषकहरूका अनुसार, बैठकले बहसको ढोका खोलेन भने पार्टीमा गहिरो संकटको संकेत स्पष्ट हुने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट