Techie IT
२०८२ श्रावण १९, सोमबार

माओवादी स्थायी कमिटी बैठकमा जनार्दन शर्माको चर्को आलोचना

बैठक भोलि आइतबार बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ ।


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको असमझदारी सार्वजनिक रूपमा व्यक्त गरेपछि उनीमाथि आफ्नै पार्टीभित्र चर्को आलोचना भएको छ । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा शनिबार धारणा राख्ने अधिकांश नेताहरूले शर्माको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै आत्मालोचना गर्नुपर्ने माग गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा शनिबार स्थायी कमिटीका १८ सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीसहित २५ जनाले धारणा राखेका थिए । तीमध्ये धेरैले अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको भन्दै शर्माको आलोचना गरेका थिए ।

स्रोतका अनुसार, यसअघि शर्माको पक्षमा उभिँदै आएका नेताहरूले समेत यसपटक उनको अभिव्यक्तिको विरोध गरेका छन् । नेताहरूले पार्टीभित्रको मतभेद सार्वजनिक रूपमा बोल्नु अनुशासनविपरीत रहेको टिप्पणी गरेका छन् । स्थायी कमिटी सदस्य खगराज भट्टले भने, “वैचारिक, राजनीतिक, सांस्कृतिक र सांगठनिक रूपमा प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन । शर्माले आत्मालोचना गर्नुपर्छ ।”

अन्य स्थायी कमिटी सदस्य विजय प्रकाश सैंजुले पनि “प्रचण्ड नभएको भए यहाँसम्म आइपुगिन्थेन” भन्दै नेतृत्वको बचाउ गरेका थिए । उनले डा. बाबुराम भट्टराईले प्रचण्डलाई अन्य नेतासँग तुलना गरेको विषयमा आपत्ति जनाउँदै भने, “प्रचण्डलाई अरू नेतासँग तुलना गर्न मिल्दैन ।”

नेता जनार्दन शर्माले साउन ६ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस कार्यक्रममा नेपालका अधिकांश कम्युनिष्ट नेताहरूले ‘असुली धन्दा’ चलाएको टिप्पणी गरेका थिए । त्यसपछि प्रचण्डपक्षिय नेताहरू आक्रोशित भएका हुन् । शर्माले उक्त टिप्पणी एमाले नेताहरूप्रति लक्षित भएको दाबी गरे पनि नेताहरू सन्तुष्ट छैनन्।

स्थायी कमिटी सदस्य गणेशमान पुनले शर्मालाई पार्टीले प्रशस्त अवसर दिएको भए पनि उनले त्यसको सदुपयोग नगरेको आरोप लगाएका छन् । “अवसर पाउँदा केही नगर्ने, अनि नेतृत्वको विकल्प चाहिने भन्नु कस्तो व्यवहार हो?” पुनको भनाइ थियो।

स्थायी कमिटी सदस्य पूर्णा सुवेदीले शर्मामाथि सांगठनिक अराजकता फैलाएको आरोप लगाइन् भने कालीबहादुर खामले अध्यक्ष प्रचण्डको ७ बुँदे प्रस्तावको समर्थन गर्दै शर्माको आलोचना गरेका थिए ।

शुक्रबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको १० बुँदे प्रस्तावमा पार्टीभित्रको विषय सार्वजनिक रूपमा नबोल्न आग्रह गरिएको थियो । उनले स्पष्ट रूपमा “पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं” भन्दै वर्तमान सरकार निर्माण वा भत्काउने विषयमा माओवादी केन्द्र संलग्न नरहेको बताएका थिए ।

उपमहासचिव वर्षमान पुनले पनि पार्टीभित्रका असन्तुष्टि आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

मधेशको संकटबारे पनि छलफल
आज शनिबारको बैठकमा स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीले मधेशमा भएको जलसंकटबारे आवाज उठाएका थिए । उनले सुक्खाग्रस्त मधेशमा वर्षापछि उत्पन्न परिस्थितिबारे पार्टीले गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताए।

शनिबार अपराह्नसम्म बैठक चलेपछि स्थायी कमिटी बैठक आजका लागि स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, बैठक भोलि आइतबार बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ । बैठकमा सबै सदस्यलाई १० मिनेटका दरले धारणा राख्न समय निर्धारण गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट