Techie IT
२०८२ भाद्र २८, शनिबार

व्यक्तिपूजा होइन, ओलीको नेतृत्व अपरिहार्य आवश्यकता : एमाले सचिव भट्ट


नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण गरिएको भन्ने व्याख्या अनुचित भएको बताएका छन्। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता हो, व्यक्तिपूजाबाट प्रेरित होइन।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनका कदमको अर्थ समयसँगै स्पष्ट हुने अद्भुत क्षमता रहेको बताए।

“राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो। शक्ति, संगठन र जनसमर्थनको हिसाबले एमाले देशको एक नम्बर पार्टी हो,” उनले भने।

भट्टका अनुसार नेकपा एमाले वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्रमा छ र यसको नेतृत्व ओलीकै हातमा छ। उनले अध्यक्ष ओलीको सक्रियता, संकल्पशक्ति र खट्ने क्षमता नेपालमा अन्य नेतामा नदेखिने दाबी पनि गरे।

पार्टीभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले आत्मसुधारमार्फत समाधान गर्ने धारणा राखे। साथै, बैठकमा समर्थन जनाउने तर बाहिर आलोचना गर्ने प्रवृत्तिले संगठन कमजोर हुने चेतावनी दिए।

गणतन्त्रको संरक्षण र राष्ट्रपतिको गरिमा कायम राख्ने विषयमा एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै भट्टले पुर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउन आग्रह गरिएको जानकारी दिए।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पनि ओलीको नेतृत्वलाई राष्ट्रको आवश्यकता भएको बताउँदै, वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता ओली भएको दाबी गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतको उपस्थिति थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट