राप्रपा नेतृ रेखा थापाद्वारा विशेष महाधिवेशनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं अभिनेत्री रेखा थापाले पार्टीभित्रको बढ्दो विवादका कारण विशेष महाधिवेशन आह्वान गर्न माग गरेकी छन्।
थापाले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै लेखेकी छन्, "राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र?"। उनी गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन्।
हाल राप्रपाभित्र दुई पक्षबीच आन्तरिक विवाद तीव्र बन्दै गएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि महामन्त्री डा. धवलशमशेर राणा पक्ष असन्तुष्ट बनेको छ। तर, अध्यक्ष लिङ्देन पक्षले पदमुक्त गर्ने निर्णय फिर्ता नलिने अडान लिएको छ।
पछिल्लो समयको विवाद राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा झल्किएको छ। अध्यक्ष लिङ्देन सहभागी उक्त अधिवेशनमा दुई पक्षबीच विवाद चर्किँदा हात हालाहालसमेत भएको थियो। त्यसपछि लिङ्देनले अधिवेशन स्थगित गर्ने निर्देशन दिएका थिए। तर अर्को पक्षले एकतर्फी रूपमा नयाँ समिति गठन गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस