मिस्रीको उपरखुट्टी शैली कूटनीतिक वृत्तमा विवादित

आइतबार नेपाल आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री तथा शीर्ष दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरेका छन्। दुई दिने नेपाल भ्रमणमा रहेका उनले सत्तापक्ष र प्रतिपक्ष दुवै दलका नेतासँग भेटघाट तीव्र पारेका हुन्।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित कार्यालयमा भएको भेटका क्रममा मिस्रीको आसन शैलीलाई लिएर कूटनीतिक वृत्तमा चर्चा चुलिएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तस्वीरमा ओलीसँगको भेटमा मिस्रीले उपरखुट्टी लगाएको मुद्रा देखिन्छ। कतिपयले यसलाई ‘अशिष्ट व्यवहारका रूपमा लिएर आलोचना गरेका छन् भने कतिपयले सामान्य व्यक्तिगत बानीका रूपमा बुझ्नुपर्ने बताएका छन्।
यद्यपि, शेरबहादुर देउवासँग बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा भने मिस्री फरक ढंगमा प्रस्तुत भएको तस्वीर सार्वजनिक भएको छ। त्यहाँ उनले उपरखुट्टी नलगाएको देखिन्छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड सँग खुमलटारमा भएको भेटमा समेत मिस्रीको आसन प्रधानमन्त्री निवासमा देखिएजस्तो देखिँदैन।
मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति निवासमा भएको भेटमा उनको बसाइ अन्य नेताहरूसँगको जस्तै सामान्य देखिन्छ।
यसअघि मिस्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका थिए। देउवाले फेसबुकमा लेखेका छन्–आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो। हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको साझा आकांक्षामा आधारित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्न केन्द्रित थियो।

मिस्री र प्रचण्डबीचको भेटमा भने नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस