बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई पार्टीमा स्थान दिँदैनौं - प्रचण्ड

काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलिया, दलाल र चन्दा प्रवृत्तिमा लाग्ने नेताहरूलाई पार्टीमा स्थान नदिने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको दाबी गरेका छन् ।
‘हाम्रो पार्टीका कतिपय नेताहरू समाजवादी बन्नुपर्नेमा उल्टै बिचौलिया टाइपका बनेका कारण पार्टी कमजोर भएको छ,’ उनले भने, ‘अब हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।’
प्रचण्डले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकेको स्वीकार गर्दै आगामी दिनमा उत्पादनलाई प्राथमिकतामा राखेर जनतासँग प्रत्यक्ष जोडिने अभियान सञ्चालन गर्ने बताएका थिए ।
कृषि, उद्योग, जडीबुटी र पर्यटन जस्ता क्षेत्रमा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको आधार बनाउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी बनाउनेमा उनले जोड दिएका छन् ।
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध लडेको दाबी गर्दै प्रचण्डले माओवादी केन्द्रले यस्ता प्रवृत्ति बोकेकाहरूसँग लामो समय रहन नसक्ने स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस