प्रधानमन्त्री ओली बेइजिङ जाँदै

चीनको थियानजिन सहरमा सम्पन्न शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्दैछन्।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुने कार्यक्रम तय भएको छ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
यसअघि प्रधानमन्त्री ओलीले थियानजिनमै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।
भ्रमणको अन्तिम दिन भदौ १८ गते, नेपाली प्रतिनिधिमण्डल चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ प्रतिरोधी युद्धमा विजय प्राप्तिको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ।
कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस