Techie IT
२०८२ भाद्र १७, मंगलबार

रञ्जिता पक्षको बैठक: पदाधिकारीबिहीन कमिटी, अद्यावधिक प्रक्रिया सुरु


नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारी नबनाउने निर्णय गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले आइतबार र सोमबार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो।

संरक्षक रेशम चौधरी अनुपस्थित बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार अद्यावधिक प्रक्रिया जनप्रतिनिधिहरूबाट सुरु हुनेछ । उनले भने, “सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्छौं। त्यसपछि संघ र प्रदेशका सांसदहरू, अनि अन्त्यमा केन्द्रीय सदस्यहरूलाई सम्पर्कमा ल्याउँछौं।”

निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा अद्यावधिक अड्किएको हो। यसअघि रेशम चौधरी पक्षले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णय गरेको थियो तर आयोगले त्यसलाई मान्यता दिएको छैन ।

पण्डितका अनुसार अद्यावधिक चरणबद्ध रूपमा हुनेछ। अध्यक्ष रञ्जिताले पार्टी बैठक आव्हान गरी विधान संशोधन गर्ने तथा नाम अद्यावधिक गर्ने निर्णय गरेपछि रेशम पक्ष असन्तुष्ट बनेको हो। विधान संशोधन गर्न केन्द्रीय समितिको दुई-तिहाइ मत आवश्यक पर्छ।

पण्डितले भने, “दुई-तिहाइ संख्या सजिलै पुग्छ, किनभने अद्यावधिक गर्न नचाहने कोही छैन।” उनका अनुसार बैठकमा १३ जना उपस्थित भए पनि अनुपस्थित सदस्यहरूले पनि निर्णयमा समर्थन जनाएको जानकारी पाएको बताए।

नाउपाको विधानअनुसार २०१ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। हाल संस्थापक २१ मध्ये १६ जना मात्र सक्रिय छन्। दुई दिनको बैठकले एकैपटक २०१ जना सदस्य नबनाई क्रमशः थप्दै लैजाने निर्णय गरेको छ।

केन्द्रीय सदस्य बन्न दस्तुर बुझाए पनि कमिटीमा नपरेका व्यक्तिहरूलाई प्रमाणसहित सम्पर्क गर्न आह्वान गरिने पण्डितले जानकारी दिए। “कतिले छाड्नुभएको होला, कतिलाई आउन मन नहोला। त्यो छानबिन गर्छौं र जिम्मेवारी बाँडफाँड गर्छौं। विभागीय जिम्मेवारी पनि दिन्छौं,” उनले भने।

बैठकले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिने निर्णय गरेको छ। नाउपाको दुई पक्षबीचको विवादका कारण आयोगमा उम्मेदवार दर्ता नभएको हो। दुवै पक्षले उम्मेदवार दर्ता गरे ढकिया चुनाव चिन्ह नपाउने अवस्था छ।

रेशम चौधरी पक्षले स्वतन्त्र रूपमा उम्मेदवार उठाउने तयारी गरेको छ। उनीहरूले डा. सरोजसिंह चौधरी वा डा. उमाशंकर चौधरीमध्ये एकलाई उम्मेदवार बनाउने योजना बनाइरहेका छन्। यता, रञ्जिता पक्षले उम्मेदवार छान्ने अधिकार रुपन्देही जिल्ला कमिटीलाई दिएको छ। तर रेशम पक्षले अघि सारेको उम्मेदवारलाई जिल्ला कमिटीले स्विकार नगर्ने पण्डितको दाबी छ।

बैठकले संगठन विभाग प्रमुखमा लक्ष्मण किशोर चौधरी र प्रवक्तामा दामोदर पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट