प्रचण्ड–माधव भेट : समाजवादी मोर्चा बलियो बनाउनेमा जोड, पार्टी एकता अझै टुंगो छैन

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको विषयमा कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन्।
मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आलोकनगरस्थित पार्टी कार्यालयमा भेट्न पुगेका गुरुङले समाजवादी मोर्चालाई बलियो बनाउनेबारे मात्र छलफल भएको बताए।
उनका अनुसार, हाल दुवै दल एउटै मोर्चामा सहकार्य गरिरहेका कारण विचार र सिद्धान्तमा सहमति भए भविष्यमा पार्टी एकता हुन सक्ने सम्भावना खुला रहेको छ।
गुरुङले भने, “आजको छलफल समाजवादी मोर्चालाई अझ सशक्त बनाउने विषयमा केन्द्रित रह्यो। पार्टी एकताको विषयमा कुनै निष्कर्षमा पुगेका छैनौँ। राजनीतिक दलबीच उच्चस्तरीय छलफल हुनु स्वाभाविक हो। आवश्यक परेमा पार्टी एकता पनि हुन्छ। त्यसका लागि विचार र सिद्धान्त मिल्नुपर्छ। सहमति भए तत्कालै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ। आवश्यकता अनुसार यस्ता छलफललाई निरन्तरता दिन्छौँ।”
हाल प्रचण्ड र माधवबीच निरन्तर छलफल भइरहेका छन्। केही दिनअघि मात्रै प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हरिसिद्धी पुगेर भेटेका थिए।
माओवादी केन्द्रले बिहीबार पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीले भदौको अन्तिमतिर केन्द्रीय समिति बैठक गर्ने तयारी गरेको छ।
यता नेकपाको स्थायी समिति बैठक कपिलवस्तुमा तीन दिनदेखि जारी छ। बैठकपछि भदौ २१ गतेसम्म पोलिटब्यूरो र २२ गतेबाट केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम छ। नेताहरूका अनुसार, पार्टी एकताको विषयमा केन्द्रीय समिति बैठकले अन्तिम निर्णय गर्नेछ।
माओवादी केन्द्रले यसअघि साउन १२ गते सम्पन्न स्थायी समिति बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस