प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा १४ भदौमा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा उनले तियानजिनमा राष्ट्रपति सी चिनफिङसँग र बेइजिङमा उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका थिए। साथै, शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीयतामा जोड दिएका थिए।
सन् २००१ मा स्थापित एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो। यसमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार (डायलग पार्टनर) का रूपमा रहेका छन्।
शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेतासँग भेटवार्ता गरेका थिए। करिब २५ मिनेट लामो भेटमा ओली र पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए। त्यस्तै, उनले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी र पत्रकारहरू सहभागी थिए।
तपाईको प्रतिक्रिया दिनुहोस