Techie IT
२०८२ भाद्र २३, सोमबार

निजामती सेवामा प्रविधिमैत्री रुपान्तरण आवश्यक - प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्ति तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्। बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ।

निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, “निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य संयन्त्र हो। सरकारका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी यही सेवाको काँधमा छ। यसकै प्रभावकारितामा सरकारको सफलताको मापन हुन्छ।”

उनले थपे, “सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा परिवर्तन ल्याउन जरुरी छ। अब नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ। टेबल–कुर्सीमा सीमित नभई प्रविधिमार्फत सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ।”

प्रधानमन्त्री ओलीले पछिल्लो समय निजामती सेवामा देखिएको मूल्य मान्यता, आचरण र जवाफदेहिताको कमीले नागरिकको विश्वास घटेको उल्लेख गर्दै, सेवा लिन आएका नागरिकलाई झन्झटमा पार्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले संसदमा पारित हुन लागिरहेको निजामती विधेयकलाई प्रशासनिक संघीयताको महत्वपूर्ण फड्को भन्दै, यसले कर्मचारी वर्गको उन्नयन मात्र होइन, संघीयताको प्रभावकारी कार्यान्वयनमा समेत नयाँ आयाम दिने बताएका छन् ।

त्यस्तै, सबै कर्मचारीलाई उच्च मनोबलका साथ पारदर्शी, जिम्मेवार र परिणाममुखी ढंगले नागरिक सेवामा क्रियाशील हुन आह्वान गर्दै उनले भने, “काम र जिम्मेवारी पन्छाउने होइन, मुलुकप्रति प्रतिबद्ध र नागरिकतर्फ संवेदनशील बन्ने अपेक्षा नागरिकले राखेका छन्।”

प्रविधिमैत्री सुशासनलाई आजको युगको आवश्यकता ठहर गर्दै प्रधानमन्त्री ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्याङ्कमा आधारित नीति निर्माण र सहज अनलाइन सेवा प्रवाहमार्फत छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको दायित्व भएको बताए।

उनले नागरिक एपमार्फत सेवा एकीकृत गरी घरदैलोमै पुयाउने सरकारको नीति रहेको र यसैका लागि उच्चस्तरीय सुशासन आयोग गठन, सर्भिस म्यापिङ, कार्यालय तथा दरबन्दी कटौती, र स्रोत–साधनको प्रभावकारी उपयोगमा जोड दिइएको जानकारी दिए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न निजामती सेवक कर्मचारीको प्रतिबद्धता, सिर्जनशीलता र नवप्रवर्तनशीलताकाे अपरिहार्यता उल्लेख गर्दै उनले व्यावसायिक, पारदर्शी र नागरिकमैत्री प्रशासन निर्माण गर्न सबैलाई कर्तव्यनिष्ठ बन्न आग्रह गरे।

दिवसको उपलक्ष्यमा उनले सम्पूर्ण निजामती सेवापरिवारलाई सफलताको शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट