ओलीले बुद्धिजीवीमाथि गुनासो गर्दै सुनाए ‘पुतलीको कथा’

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूले सरकारले गरेको सकारात्मक काम नदेखेको गुनासो गरेका छन्।
ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन, हलमा सम्बोधन गर्दै ओलीले पछिल्लो समय सरकारले लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग भनेर विश्वमञ्चमा राखेको प्रयासबारे पनि बुद्धिजीवीहरूले मूल्याङ्कन नगरेको बताएका छन्।
उक्त क्रममा उनले हलमा प्रतिनिधिमाझ एउटा कथा सुनाए । कथामा एउटा पुतली रस खाएर निदाउँछ र सपनामा डाक्टर, पाइलट, इन्जिनियर बनेको देख्छ। अन्ततः आफू मन्त्री बन्ने सपना देखेर उठ्दा पनि पुतली नै रहेको महसुस गर्छ। ओलीले यससँग हालका केही बुद्धिजीवीको अवस्था तुलना गर्दै भने, “सरकारको राम्रो काम देख्दैनन्, तर नकारात्मक कुरा खोज्दै हिँड्छन्।”
प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, सामाजिक सञ्जाल बन्दको विषयमा केहि बुद्धिजीवीले सरकारद्वारा वाक् स्वतन्त्रता कुण्ठित गरिएको भ्रम सृजना गरेकोमा ओलीले आश्चर्य व्यक्त गरेका छन्।
ओलीले भनेका छन्, “मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले सामाजिक सञ्जाल दर्ता गराउन एक वर्षदेखि अनुरोध गरिरहेको थियो। कानूनको दायरामा नआएपछि सञ्चालनमा रोक लगाइएको हो। तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक् स्वतन्त्रताको अर्थ बुझेका छैनन्।”
उनले हलमा सुनाएको कथा यस प्रकार छ:
“एउटा पुतली आयो, रस खाएर निदायो। सपनामा उसले मान्छे बनेको, डाक्टर, इन्जिनियर बनेको देख्यो। अनि आफू मन्त्री बन्ने सपना देख्दा पनि उठ्दा पुतली नै रह्यो। अहिलेका बुद्धिजीवीहरू यही पुतलीजस्तो भए; सरकारको राम्रो काम देख्दैनन्, तर नराम्रा कुरा खोज्दै हिँड्छन्। लिपुलेक–लिम्पियाधुरा नेपालको भए पनि देख्दैनन्।”
तपाईको प्रतिक्रिया दिनुहोस