Techie IT
२०८२ भाद्र २३, सोमबार

समाजवादी र माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्ताव पारित गर्दै प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक दुवैलाई राजीनामा दिन आग्रह गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै बैठकले कडा आपत्ति जनाएको छ । ‘अहिले नै आन्दोलनकारीका जायज माग सम्बोधन गर सरकार ! सामाजिक सञ्जाल खुला गर’, ज्वालाले चेतावनी दिँदै भने– ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन ।’

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पार्टीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ । साथै, दमन बन्द गरी वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै सरकारले ‘नरसंहार’ गरेको आरोप लगाएको छ ।

‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले परिस्थितिलाई नियन्त्रण गर्न असफल भएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी नेताहरूका अनुसार जेनजी आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा १५ जनाको ज्यान गइसकेको छ । घटनापछि प्रचण्डसहितको शीर्ष नेतृत्वले अभियान स्थगित गरी काठमाडौं फर्कने निर्णय गरेको नेता माधव सापकोटाले जानकारी दिए ।

‘सरकारले ताकी ताकी गोली हानेको छ, यो हत्या नभई नरसंहार हो,’ सापकोटाले भने । दुवै दलले आन्दोलनलाई हिंसा वा मुठभेडतर्फ नलगेर शान्तिपूर्ण ढंगले अघि बढाउन आन्दोलनकारी युवाहरूसँग अपिलसमेत गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट