जेनजी आन्दोलन चर्किँदा कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु

जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भइरहेको हो।
बैठकमा सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ। उनीहरू दुवै बैठकमा उपस्थित भइसकेको स्रोतले जनाएको छ।
त्यसैगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितका नेताहरू बैठकमा सहभागी छन्। उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौं बाहिर रहेकाले अनुपस्थित रहेको स्रोतले जनाएको छ।
जेनजी आन्दोलनमा ठूलो संख्यामा मृत्यु र घाइते भएपछि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला सभापति देउवाले बैठक बोलाएका हुन्। यसबारे पनि बैठकमा छलफल हुने एक नेताले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस