प्रधानमन्त्री ओलीद्वारा जेन-जी आन्दोलनमा मृत्यु भएकाप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको मृत्यु र क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।
सोमबार जारी वक्तव्यमा प्रधानमन्त्री ओलीले जेन-जी पुस्ताको मागप्रति सरकार संवेदनशील रहेको तर प्रदर्शनमा विभिन्न स्वार्थ समूह घुसपैठ गर्न पुगेपछि तोडफोड र आगजनीजस्ता घटना भएको बताए। “प्रदर्शनका आयोजक स्वयंले सफल भएको घोषणा गरी घर फर्कन आग्रह गरिसकेपछि घुसपैठियाले संवैधानिक संस्थाका कार्यालयमा आक्रमण गरे। त्यसपछि राज्यको सम्पत्ति जोगाउन सरकारले कदम चाल्नुपर्ने स्थिति आयो,” उनले भने।
सामाजिक सञ्जाल बन्दबारे प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि कम्पनीहरूलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको स्मरण गराए। कतिपयले दर्ता गरे पनि केहीले बेवास्ता गरेको र सर्वोच्च अदालतले सूचीकरण नगरी सञ्चालन नगर्न आदेश दिएको कारण सामाजिक सञ्जाल निष्क्रिय गर्नुपरेको उनले बताए।
“सरकारले सामाजिक सञ्जाल रोक्ने नीति लिएको थिएन र छैन। अदालतको आदेशअनुसार सूचीकरण भए लगत्तै पुनः सञ्चालन हुने व्यवस्था गरिएको हो,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले सामाजिक सञ्जालबारे जानकारी अभाव र जेन-जी पुस्ताको अस्पष्ट सोचले परिस्थिति बिग्रिएको टिप्पणी गरेका छन् ।
दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतकका परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। साथै, घटनाको कारण र अवस्था विश्लेषण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए।


तपाईको प्रतिक्रिया दिनुहोस