रास्वपाका २० सांसदले दिए सामूहिक राजीनामा, पाँच बुँदे माग सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले मंगलबार सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्दा दर्जनौं युवाको मृत्यु भएपछि रास्वपाले यस्तो कदम चालेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।
रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ:
१) प्रधानमन्त्रीको तत्काल राजीनामा,
२) निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,
३) सर्वपक्षीय नागरिक सरकार गठन,
४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिन र दोषीमाथि कडा कारबाही,
५) संविधान संशोधनको प्रक्रिया आरम्भ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्।” साथै आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस