Techie IT
२०८२ भाद्र २६, बिहीबार

जेनजीको आन्दोलन सफल, अन्तरिम सरकार गठनमार्फत काम सुरु होस् - नेता श्रेष्ठ


नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई सफल भएको भन्दै शुभकामना दिएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले जेनजी आन्दोलनले उठाएका मागहरू आफूले प्रारम्भदेखि नै उठाउँदै आएका प्रमुख मुद्दासँग मेल खाने बताएका छन् ।

नेता काजीको स्टाटस हेर्नुहोस्-

"प्रिय जेन जी GEN Z साथीहरु,

तपाईंहरूले नेपाल र विश्वकै इतिहासमा अविस्मरणीय आन्दोलनका रुपमा अङ्कित हुने गरी संघर्षको आव्हान गर्नु भयो र त्यसमा एक हदसम्म सफलता पनि प्राप्त गर्नुभयो । मैले एक हदसम्म यस कारणले भनेको छु कि, अवको वार्ता, त्यसको सफलता र आगामी समग्र घटनाक्रम तथा कामको दिशाले नै बास्तविक सफलताको पूर्ण उद्घोष गर्न सक्नेछ । तपाईहरुको साहासिक पहल र अहिलेसम्म तपाईंहरूले जे जति सकारात्मक उपलब्धि हाँसिल गर्नु भएको छ त्यसकालागि तपाईंहरू प्रति सम्मान व्यक्त गर्दै हार्दिक बधाई दिन चाहान्छु ।

मैले प्रारम्भ देखि नै तपाईंहरूले उठाउँदै आउनुभएको प्रमुख मुद्दाहरू प्रति सार्वजनिक रुपमा नै स्वागत र समर्थन गरेको थिएँ। किनभने मैले भनाइ र गराइमा एकरुपताका साथ राष्ट्रिय सार्वभौमिकताको रक्षा , समुन्नत सहभागितामूलक लोकतन्त्रको सुनिश्चितता , विधिको शासन, आर्थिक भ्रष्टाचार ,अनियमितता ,नातावाद - कृपाबाद विरुद्धको सुशासन अभियान ,राजनीतिक स्वच्छता तथा शुद्धीकरण र सामाजिक न्याय सहितको समृद्धिको पक्षमा आवाज उठाउँदै ,सम्भव हदसम्म लागू गर्दै र संघर्ष गर्दै आइरहेको कुरा तपाईंहरू सबैलाई थाहा नै छ । मुख्यतः सुशासन, राजनीतिको शुद्धिकरण र समृद्धिको पक्षमा लगातार संघर्ष गर्दा गर्दै पनि गुणात्मक सफलता हासिल नभइसकेको अवस्थामा तपाईंहरूले यही मुद्दालाई मुख्य बनाएर आन्दोलन आव्हान गर्नु हुँदा उक्त मुद्दालाई आफ्नै मुद्दाको रुपमा ग्रहण गर्दै स्वागत - समर्थन गर्नु मेरा लागि स्वाभाविक थियो ।

तर जेन जी साथीहरु ,तपाईहरुको संघर्षको मुद्दालाई समर्थन व्यक्त गर्दा नै मैले आन्दोलनमा अवाञ्छित तत्व हरुको घुसपैठ र गलत मोड दिने दुश्प्रयत्नको खतराप्रति सचेत हुन र त्यसबाट आन्दोलन लाई बचाउन पनि अनुरोध गरेको थिएँ। अन्ततः त्यही भयो । प्र म ले राजिनामा गरिसकेपछिको दोस्रो दिनमा राज्यका मुख्य अंगहरू कार्यपालिका ,न्यायपालिका र व्यवस्थापिका लाई प्रतिनिधित्व गर्ने सिंहदरवार , राष्ट्रपति कार्यालय ,सर्वोच्च अदालत , संसद लगायत सार्वजनिक कार्यालय एवं सम्पति र व्यक्तिगत घरहरू ,व्यवसायिक स्थानहरू जलाउने ,ध्वस्त पार्ने ,राष्ट्र बैंकमा आक्रमण गर्ने ,लुट्ने र सर्वत्र लुटपाटका घटना हरु घटाउने जे जस्ता विध्वंसक कार्यहरू भए ,त्योअत्यन्त दुःखद मात्र होइन मुलुकलाईलाई दूरगामी क्षति तथा नकारात्मक असर पार्ने असामान्य प्रकृतिका छन् ।राज्यको क्रियाशील शक्तिको भूमिका पनि त्यस सन्दर्भमा प्रभावकारी देखिएन भने तपाईंहरूले पनि आफ्नो नेतृत्व र नियन्त्रण राख्न सक्नु भएन । यसको परिणाम घातक हुन पुग्यो । कुनै पनि शक्तिशाली आन्दोलनहरुमा धेर थोर नसोचिएका घटनाहरू हुनु स्वाभाविक हुन्छ ।त्यसमाथि पनि राज्यको बर्बर दमनबाट करीब दुई दर्जन निहत्था तरुणहरुको हृदयविदारक ज्यान गुमेपछिको आक्रोशको परिणामहरू केही थपिनु लाई अन्यथा ठान्न मिल्दैन । तर त्यस दिनभर निरन्तर अकन्टकरुपमा जे भयो त्यसलाई किमार्थ त्यसको सीमा भित्रको घटना मान्न सकिन्न ।त्यसको दुई पक्ष अत्यन्त संवेदनशील र गम्भीर छन् । एक ,त्यो आन्दोलनकारीको नेतृत्व र नियन्त्रणमा थिएन ।तपाईंहरूले पनि आफ्ना भिडियो संदेशहरु मार्फत यसलाई स्वीकार गर्दै दुःख प्रकट गर्नु भएको छ । दुई , त्यो निजी स्वार्थ लम्पट अराजक तत्वहरुले मात्र घटाएको घटनाको रुपमा लिन सकिन्न ,त्यसका अतिरिक्त त्यो मूलतः विभिन्न शक्तिहरूको आ-आफ्नो स्वार्थ लाभमा आधारित योजनाबद्ध भूमिकाको परिणाम देखिन्छ । यी अवाञ्छित शक्तिहरूले आगामी दिनहरुमा पनि यस प्रकारले गलत दिशा दिने गरी प्रभावित पार्ने प्रयत्न अवश्य गर्नेछन् र त्यसबाट बच्न सकिएन भने देशले भयावह नकारात्मक परिणाम भोग्नु पर्नेछ ।यस प्रति सचेत हुनु र यसबाट बच्नु जरुरी छ ।

तसर्थ हामी सबै,मुख्यतः वर्तमान आन्दोलनको नेतृत्व गर्ने र राज्यसँगको वार्तामा संलग्न जेन जी साथीहरु आफ्नो वर्तमान संघर्षको मुख्य मुद्दा लाई केन्द्रमा राख्दै समग्रतामा निम्न विषयमा स्पष्ट हुन र तदनुरूप अघि बढ्न म विनम्रतापूर्वक अपील गर्दछु :

एक , विश्वभर साम्राज्यवाद र उपनिवेशबादको जगजगी हुँदा समेत हाम्रा पुर्खा हरुले हाम्रो देशलाई कसैले कसैको प्रत्यक्ष उपनिवेश हुन दिनुभएन । हामीले आज पनि त्यस प्रति गर्व गर्छौं । हरेक आन्दोलन र संक्रमणकालमा राजनीतिक अस्थिरताको बीचमा विदेशी शक्तिहरूको हस्तक्षेप र राष्ट्रिय सार्वभौमिकता तथा राष्ट्रिय हित माथि कुठाराघातको खतरा उत्पन्न हुनसक्छ ।कमजोर नेतृत्व र अराजकताले त्यो खतरा लाई बढाउँछ । त्यसैले हामी यसप्रति गम्भीर र सचेत बन्नु पर्छ । सकारात्मक परिवर्तनको निम्ति भएको संघर्षले देशको सार्वभौमिकतामा आँच आउने र राष्ट्रिय हितमाथि कुठाराघात हुन नपाओस् ।

दुई , नेपाली जनताले ६ दशक भन्दा बढी बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको र आजको २१औं शताब्दीको समाजको अपेक्षा अनुरुपको लोकतन्त्र कै बाटो बाट अघि बढ्नुपर्छ ।लोकतन्त्र लाई अझ उन्नत र परिमार्जन गर्नु पर्छ ,तर कुनै पनि हालतमा जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने कार्य स्वीकार्य हुन सक्दैन ।

तीन ,राजनीतिक स्थिरताको लागि तपाईंहरूले जस्तै हामीले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु पर्छ र मन्त्रिपण्डल संसद भन्दा बाहिरका विज्ञ व्यक्तिहरूबाट बनाऔ भन्ने प्रस्ताव राख्दै आएको छौं । संसदको निर्वाचन उपयुक्त ढंगको समानुपातिक प्रणालीबाट गरौं । यसको लागि वैधानिक बाटोबाट संविधान संशोधन गरौं ।

यसका अतिरिक्त राज्यका अन्य अंगहरू, कर्मचारीतन्त्र ,न्यायपालिका र अख्तियार जस्ता अङ्गहरूको पुनसंरचना र रुपान्तरणको पक्षमा कदम चालौ ।

चार , लोकतन्त्रको एउटा अनिवार्य र महत्वपूर्ण पक्ष सुशासन हो । विकासको फड्कोको लागि पनि भ्रष्टाचारको अन्त्य , राजकीय पदहरूमा राजनीतिक भागवण्डाको अन्त्य ,नातावाद कृपावादको अन्त्य र विधिको शासनको प्रत्याभूति सहित सुशासन अनिवार्य शर्त हुन्। तपाईंहरूले पनि यसैमा जोड दिनु भएको छ। अझ भनौं यो मुद्दा नै अहिले जेन जी आन्दोलनको केन्द्रीय मुद्दा हो ।हामीले हर हालतमा यसलाई सुनिश्चित गर्ने गरी अघि बढ्नु पर्छ ।

पाँच ,हाम्रो मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सामाजिक न्याय सहितको समृद्धि हो । संविधानले निर्दिष्ट गरे अनुरुप आजको आवश्यकता अनुरुपको नेपाली मौलिकताको विकासको ढाँचा ( development model ) मा स्पष्ट हुँदै हाम्रो सम्पूर्ण विचार , नीति , योजना र आचरण यसै मूल उद्देश्य उन्मुख बनाउनु पर्दछ । नेपालमै शिक्षा ,स्वास्थ्य ,रोजगारीको सुनिश्चितता हुने स्थिति निर्माण गर्नु छ ।

साथीहरु ,तपाईंहरूले सुशासन र राजनीतिक स्थिरता लाई मुख्य बनाउँदै समृद्धिको बाटोमा अघि बढ्ने उद्देश्य लिनु भएको छ र त्यो सही छ । राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्र लाई सायद तपाईंहरूले स्वतः अन्तर्निहित विषयका रुपमा लिनुभएको होला । तर संक्रमणकालमा हुने बढ्दो वैदेशिक हस्तक्षेपको खतरा र नेपाली जनताले बारम्बार प्रतिगमनको बिरुध्द लोकतन्त्रको पक्षमा संघर्ष गर्नु परिरहेको पृष्ठभूमिमा राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित र लोकतन्त्रको रक्षा लाई पनि आफ्नो मुख्य कार्यसूचीमा नै राख्नु पर्ने हुन्छ ।यसमा दृढ हुनुहुनेछ भन्ने आशा गरेको छु । त्यसैले हामीले समग्रतामा राष्ट्रिय सार्वभौमिकता , जनताको सम्प्रभुता सुनिश्चित रहने लोकतान्त्रिक प्रणाली ,सुशासन ,राजनीतिक स्थिरता ( प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ) र समृद्धिलाई श्रृङ्खलाको मूल कार्यसूची बनाउनु पर्छ ।त्यो सुनिश्चित गर्न सकिए मा नै ईतिहासको अग्रगामी फड्को को रुपमा जेन जी आन्दोलन सुनौलो अक्षरले अङ्कित हुनेछ । म आशा गर्छु ,तपाईंहरूले यसमा गम्भीर एवं हार्दिक रुपमा ग्रहण गर्नुहुनेछ । यतिबेला तपाईंहरुकै भूमिका मुख्य हुने भएकाले म तपाईंहरू सँग साथ र सहकार्यमा रहने तत्परता प्रकट गर्दछु । अबको कामको शुरुवात अन्तरिम सरकारको गठनबाट हुने भएकाले जेन जी को प्रस्ताव र सहमतिमा त्यो बन्न सकोस् भन्ने शुभेच्छा सहित समग्रमा सफलताको शुभकामना ।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट