राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ’ : एमाले

नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने स्पष्ट मत राखेको छ। महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी दृढ छ।”
पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्तासम्बन्धी सरोकारहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
विज्ञप्तिमा उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका लिन ध्यानाकर्षण गराएका छन्। “संविधानको मर्मअनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ।
पोखरेलले सार्वजनिक गरेको ८ बुँदे विज्ञप्तिमा विषम परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले लोकतन्त्रको रक्षा गर्न आफ्ना-आफ्ना स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइएको छ। स्थानीय तहहरूले सेवा प्रवाहलाई निर्बाध बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
यस्तै, उनले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दललाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि समझदारी निर्माण गर्न आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस