Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

सरकार गठन संविधानसम्मत हुनुपर्छ : पत्रकार महासङ्घ


नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ। महासङ्घकी अध्यक्ष निर्मला शर्माले बिहीबार सार्वजनिक गरेको अपिलमार्फत देशभर व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय रहेको उल्लेख गरिएको छ।

महासङ्घले आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी सम्पत्ति र भौतिक संरचनामा भएको क्षतिप्रति दुःख प्रकट गर्दै यस्तो क्षतिको दीर्घकालीन असर मुलुकले व्यहोर्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

तत्कालीन सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधान खोज्न राष्ट्रपतिले संवैधानिक र राजनीतिक पहल गर्नुपर्ने महासङ्घको भनाइ छ। “मूलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थामार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्छ भन्ने महासङ्घको ठहर छ,” अपिलमा भनिएको छ।

यस्तै, नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाटै हुनुपर्ने भन्दै पत्रकार महासङ्घले वार्ताका लागि राष्ट्रपतिले बोलाइसकेपछि सहजीकरण गर्न आफूहरूसहित छ वटा पेसागत सञ्जाल तयार रहेको जानकारी गराएको छ।

पछिल्लो समय शान्ति सुरक्षाको क्षेत्रमा सेनाले खेलेको भूमिकालाई सराहना गर्दै महासङ्घले राजनीतिक समस्याको समाधान भने राष्ट्रपति कार्यालयमार्फत हुनुपर्ने स्पष्ट पारेको छ। “जङ्गी अड्डाबाट होइन, राष्ट्रपति कार्यालयबाट समाधानको प्रयास हुनुपर्छ भन्ने महासङ्घको ठहर छ,” अपिलमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट