मुख्य चार दलका युवा नेताहरू संयुक्त छलफलमा, तीनबुँदे निष्कर्ष सार्वजनिक
जेनजी आन्दोलनपछिको परिस्थितिमा प्रमुख चार दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन्। दलहरूबीच आन्तरिक छलफल सम्पन्न भएपछि युवा नेताहरूले भर्चुअल संवादमार्फत साझा निष्कर्ष निकालेका हुन्।
स्रोतका अनुसार नेपाली कांग्रेसतर्फबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेतर्फबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रतर्फबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट सोबिता गौतम र शिशिर खनाल छलफलमा सहभागी भएका थिए।
भर्चुअल छलफलपछि उनीहरूले तीनबुँदे निष्कर्ष सार्वजनिक गरेका छन् :
१. दलहरूले आत्मसमीक्षा गर्नुपर्छ।
२. जेनजी पुस्ताका माग सम्बोधन हुनुपर्छ।
३. पश्चगमनका प्रयास भए प्रतिवाद गर्नुपर्छ।
छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्दै राजनीतिक गतिविधि अघि बढाउने सहमति बनेको छ। नेताहरूले हालसम्म राजनीतिक दलको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको र सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मागलाई सम्बोधन गर्नुपर्नेमा एकमत भएका छन्।
त्यस्तै, कुनै शक्तिले नेपाललाई राजतन्त्र वा सैन्य शासनजस्ता पश्चगमनतर्फ धकेल्न खोजे त्यसविरुद्ध प्रतिवाद गर्नुको विकल्प नभएको साझा निष्कर्ष पनि छलफलले निकालेको छ।
तर नयाँ परिस्थितिमा नयाँ सरकार गठनबारे भने उनीहरू एउटै धारणा बनाउन नसकेको जनाइएको छ। संसद् भित्रकै सदस्यबाट प्रधानमन्त्री चयन गर्ने वा संसद् बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने सम्भावनाबारे फरक–फरक बुझाइ रहेको नेताहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस