Techie IT
२०८२ फागुन १३, बुधबार

जेनजी युवाबीच सुन्धारामा झडप, अन्तरिम सरकार गठनमा विवाद


काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ। जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको माग गर्दै विभिन्न समूह त्यहाँ भेला भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अहिले सरकारविहीन अवस्थामा पुगेको छ। यसबीच, नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग संवाद गर्न थालेपछि फरक–फरक समूहले आफूलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता दाबी गर्दै प्रस्तुत भएका हुन्।

स्रोतका अनुसार बुधबार जंगीअड्डा गेटमा माइकिङ गर्दै सेनाले युवाहरूलाई आफ्नो समूहको ‘लिडर’ को नाम र सम्पर्क नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो। त्यसपछि विभिन्न समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुगेका थिए। तर, अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिस अस्वीकार भएपछि विवाद चर्किएको हो।

अन्तरिम सरकारका प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, काठमाडौं मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र धरान मेयर हर्क साम्पाङका नाम विभिन्न समूहले अघि सारेका छन्। यस विषयमा बुधबार जंगीअड्डा अगाडि पनि वाकयुद्ध चलेको थियो।

सेनाले जंगीअड्डा परिसरमा भिड जम्मा हुन नदिएपछि बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भएका थिए। सो क्रममा फरक–फरक समूहबीच टकराव हुँदा सुन्धारा क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट