राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्छ - पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्।
भण्डारीले बिहीबार जारी विज्ञप्तिमा भनेकी छन्, “जेनजीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलनमा १९ युवाको ज्यान गयो। त्यसपछि भड्किएको हिंसा, आगजनी र तोडफोडले मुलुक स्तब्ध भएको छ। संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्न आवश्यक छ। प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ, तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्छ।”
उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पत्तिमा पुगेको क्षतिको गम्भीर छानबिन गर्नसमेत सम्बद्ध सबै पक्षलाई आग्रह गरेकी छन्।
साथै, भण्डारीले सामाजिक सञ्जाल बन्द हुँदा निस्सासिएको समाजलाई स्वतन्त्रताको वातावरणमा फर्काउने जेनजी पुस्ताको सपना अझ लोकतान्त्रिक र अग्रगामी हुने विश्वास व्यक्त गरेकी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस