Techie IT
२०८२ भाद्र २७, शुक्रबार

लखन थापाको शालिक हटाएकोमा आदिवासी जनजातिको विरोध, प्रतिकार गर्ने चेतावनी


जेनजी पुस्ताको आन्दोलनलाई आधार बनाएर पोखरामा शहीद लखन थापाको शालिक ढालिएको छ । राजावादी र राप्रपाका नेताहरू तथा समर्थक युवाहरूको सक्रियतामा लखन थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो ।

यसअघि पटक–पटक आन्दोलनमार्फत प्रयास गर्दा असफल भएका राजावादीहरू जेनजी आन्दोलनको अवसर पर्खेर आफ्नो योजना सफल बनाउन सक्षम भएको जनाइएको छ।

नेपाल आदिवासी जनजाति महासंघले लखन थापाको शालिक हटाएर सेती नदीमा फालिएकोप्रति घोर भर्त्सना गर्दै तत्काल पुनर्स्थापना गर्न माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै यो कदमले जेनजी आन्दोलनको उद्देश्यलाई बदनाम बनाएको आरोप लगाएको छ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनलाई व्यक्तिगत र राजनीतिक स्वार्थका लागि अपहरण गरियो । राष्ट्रिय धरोहर, ऐतिहासिक दस्तावेज र जनताको बलिदानी सम्झाउने स्मारकहरूलाई ध्वस्त पार्नु निन्दनीय छ ।”

साथै, उनले राज्यलाई सचेत गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र आदिवासी जनजातिको पहिचानमाथि कुठाराघात गर्ने कुनै पनि प्रयासविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

२०६२/६३ सालको जनआन्दोलनपछि पृथ्वीनारायण शाहको प्रतिमालाई हटाएर लखन थापाको शालिक स्थापना गरिएको थियो । त्यसयता चोकलाई ‘लखनचोक’ नाम दिइएको थियो । तर, यसअघि पनि यहाँ पृथ्वीनारायणको शालिक पुनःस्थापनाको प्रयास गर्दै आएका राजावादी समूह र स्थानीयबीच पटक–पटक विवाद हुँदै आएको छ ।

२०७५ साल फागुन १ गते पूर्णकदको लखन थापाको शालिक राखिए पनि यो विषय निरन्तर विवादित रहँदै आएको छ । पछिल्लो पटक भने जेनजी आन्दोलनकै क्रममा शालिक ढालिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट