संसद विघटनपछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहानदेखि चलिरहेको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ।
आन्दोलनरत जेन-जी पुस्ताका युवाहरूको मागअनुसार सुरुमै संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार कार्कीले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी प्रतिनिधिबीच संसद विघटनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा विवाद भएपछि प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भएको थियो। राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तर त्यसपछि पहिलो बैठकमै संसद विघटन गरी निर्वाचन मिति तोक्ने प्रस्ताव राखेका थिए। तर जेन-जीका प्रतिनिधिहरू भने संसद विघटन भएपछि मात्र अन्तरिम सरकार गठन हुने अडानमा रहँदा वार्ता लम्बिएको हो।
अन्ततः जेन-जीको मागअनुसार संसद विघटन गरेरै कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने सहमति राति भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस