नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, मन्त्रिपरिषद् अझै बाँकी

राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मात्रै शपथ भएको छ। तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिए पनि जेनजी प्रतिनिधिको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि अधिकांश सरकारहरू धारा ७६ अनुसार गठन भएका थिए।
तर युवा (जेन–जी) आन्दोलनका दबाबमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसार नियुक्तिपत्र पाएकी हुन्।
नेपालको संविधानको धारा–६१ राष्ट्रपति सम्बन्धी व्यवस्था हो, जसमा प्रधानमन्त्रीको पद, अधिकार वा नियुक्तिको उल्लेख छैन । धारा ६१ (१ र २) अनुसार, राष्ट्रपति राष्ट्राध्यक्ष हुने, संविधान र संघीय कानूनअनुसार आफ्नो कार्य सम्पादन गर्ने, राष्ट्रिय एकता प्रवर्द्धन गर्ने तथा संविधानको पालन र संरक्षण गर्ने व्यवस्था गरिएको छ ।
‘नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले सहमति र सिफारिसको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको ब्यहोरा जानकारी गराइन्छ,’ नियुक्तिमा भनिएको छ ।
हालका लागि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी सुम्पिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस