प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वमा बालुवाटारमा प्रदर्शन

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको समूहले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेको छ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्। नाराबाजीका क्रममा जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूका परिवारका सदस्य समेत सहभागी थिए। उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए।
प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हुन्। कसैले हामीलाई रोक्न सक्दैन। जहाँ राखेका छौं, त्यहीँबाट निकाल्न सक्छौं।”
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि प्रधानमन्त्री कार्कीलाई सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूको प्रस्तावमा नियुक्त गरिएको थियो। सो अवसरमा सुदनले प्रधानमन्त्री कार्कीको खुट्टा ढोगेका थिए।
तर, आइतबार प्रधानमन्त्री कार्कीले ओम प्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेपछि सुदनको समूह असन्तुष्ट बनेको छ। सुदन गुरुङले विशेषगरी गृहमन्त्रीमा नियुक्त ओम प्रकाश अर्यालप्रति आक्रोश व्यक्त गर्दै भने, “यो ओमप्रकाशलाई त आफैंले गृहमन्त्री बनाएछ भित्र बसेर।”
उनका समर्थकहरूले पनि आन्दोलन ‘हाइज्याक’ गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए। युवाहरूको प्रदर्शनपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षा व्यवस्था कडा पारिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस