Techie IT
२०८२ भाद्र ३०, सोमबार

एमाले महासचिव पोखरेलद्वारा क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन, पुनर्निर्माणमा जोड


नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गते भएको आन्दोलनका क्रममा ध्वस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका छन्। सोमबार ललितपुरस्थित च्यासल पुगेका पोखरेलसँग उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पनि उपस्थित थिए।

कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ को प्रदर्शनले पार्टी नेता–कार्यकर्ताका निजी भवनसहित शताब्दी पुराना सम्पदाहरू जलेर नष्ट भएको बताए। उनले सिंहदरबार, शीतलनिवास लगायतका संरचना जलाइएको उल्लेख गर्दै, नेपाल प्रहरीको केन्द्रीय कार्यालय बाहेक सबै संरचनामा क्षति पुगेको जानकारी दिए।

पोखरेलले युवाको आन्दोलनलाई लुटपाट र राष्ट्र कमजोर बनाउने कार्यमा परिणत गर्न खोज्ने केही तत्वहरू रहेको भन्दै, “त्यस्ता मानिसहरूलाई सरकारले दण्डित गर्नुपर्छ। पुनर्निर्माणको काम अघि बढाउनुपर्छ। एमाले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र विकास तथा समृद्धिलाई तीव्रता दिने काममा वर्तमान सरकारलाई सहयोग गर्न तयार छ,” भने।

उनले भने, “सधैंभरी सडकबाट जनमत प्राप्त हुने होइन। युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरेपछि मात्रै मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्न सक्छ। त्यसका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ।”

महासचिव पोखरेलले एमाले क्षतिग्रस्त पार्टी संरचना सफा गरी पुनर्निर्माणमा लाग्न निर्देशन दिनुका साथै युवाहरूको भावनालाई सम्बोधन गर्ने र परिवर्तनको आकांक्षालाई अगाडि बढाउने पार्टीको क्षमता रहेको दाबी गरे। उनले भने, “देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन। परिस्थिति समयमै आकलन गर्न नसक्दा केही कमजोरी भए पनि देशभक्तिमाथि प्रश्न गर्नु उचित होइन।”

पोखरेलले पार्टीलाई फेरि सशक्त र एकताबद्ध बनाउँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जोड दिन निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट