कांग्रेसप्रति आस्था राख्ने युवाहरूले सुरु गरे एक महिने श्रमदान अभियान

कांग्रेसमा आस्था राख्ने युवाहरूले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा शंकरदेव क्याम्पस स्ववियू सचिव मदन उपाध्यायले सरकारले पुनर्निर्माणका लागि आर्थिक सहयोग कोष खोल्न आवश्यक रहेको बताएका छन्। यदि सरकारले कोष खोल्छ भने, युवाहरूले आफूले सकेको आर्थिक सहयोग सोही कोषमा जम्मा गर्ने योजना बनाएका छन्।
उपाध्यायले भने, “सरकारले पुनर्निर्माण कोष खोलोस्। हामी अभियान सुरु गर्छौं। ‘यो दशैं आफ्ना लागि मात्र होइन, देशका लागि पनि’ भन्ने नाराका साथ युवाहरू आर्थिक सहयोग र ३० दिने श्रम अभियानमा सहभागी हुनेछन्।”
पत्रकार सम्मेलनमा सहभागी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण सिर्जना भएको वर्तमान अवस्था, राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझपूर्ण कदम र नेपाली सेनाको जिम्मेवार भूमिकाले देश शान्ति पथमा अग्रसर भएको निष्कर्ष प्रस्तुत गरे।
उनीहरूले देशको संरचना ध्वस्त भए पनि प्रजातान्त्रिक युवाहरूले साझा अभियानमार्फत पुनर्निर्माणमा जुट्ने संकल्प व्यक्त गर्दै कांग्रेसका भौतिक संरचना र स्थानीय तह पुनर्निर्माणमा सक्रियताका साथ काम गर्ने बताए।
पत्रकार सम्मेलनमा नेविसंघ केन्द्रीय सदस्य धर्म खनाल, शिक्षाविद् किरण भट्ट, केदारनाथ पाठक, ल क्याम्पस स्ववियू सचिव मनमोहन भट्ट लगायतका युवाहरू सहभागी थिए।
तपाईको प्रतिक्रिया दिनुहोस