६ महिनाभित्र निर्वाचन गरेर जनप्रतिनिधि सरकारलाई सत्ता हस्तान्तरण गर्ने छु - प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन्।
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले जेन–जी पुस्ताको आन्दोलन, विगतका राजनीतिक प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष न्यायपालिका, कानूनी राज्य र सुशासन जस्ता लोकतान्त्रिक मूल्य–मान्यतामा देश खरो उत्रिन नसक्नु नै वर्तमान असन्तुष्टिको कारण भएको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा–अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा देखिएका नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका अभ्यासबाट जानकार युवाले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारी काममा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासका सवाललाई साझा राष्ट्रिय एजेण्डा मान्दै त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिज्ञा गरिन्।
‘मैले कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर प्रधानमन्त्री भएको होइन,’ उनले स्पष्ट पार्दै भनिन्, ‘देश संकटमा रहेको अवस्थामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमणको व्यवस्थापन गर्न यो जिम्मेवारी लिएकी हुँ।
नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु।’
उनले संविधान दिवसलाई सबै नेपालीका लागि गौरवको दिन मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसरको रूपमा पनि लिनुपर्नेमा जोड दिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस