६ महिनाभित्र चुनाव सम्पन्न गरौं - राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै विकल्प नभएको बताएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकार सबै दलको आम सहमतिको आधारमा बनेको स्पष्ट पारे।
‘प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएकाले आम सहमतिबाट यो कदम चालिएको हो,’ राष्ट्रपति पौडेलले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै जुटौं।’
राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे। ‘अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ,’ उनले थपे।
उनले समयमै निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको प्रमुख कार्यभार भएको उल्लेख गर्दै राजनीतिक दल, सरकारी निकाय, बौद्धिक वर्ग र नागरिक समाजलाई असमझदारी र द्वन्द्वरहित सहकार्यका साथ निर्वाचन सफल बनाउन आह्वान गरे।
‘राष्ट्रको अभिभावकको रूपमा म सबैलाई अप्ठ्यारो अवस्थामा मिलेर अघि बढ्न आग्रह गर्छु,’ उनले भने, ‘नवपुस्ताको चाहना अनुसार तत्कालीन समयमा जे गर्न सकिन्थ्यो, हामी सबैले मिलेर गरेका छौं। मुलुक फेरि परिवर्तनको नयाँ यात्रामा प्रवेश गरेको छ।’
राष्ट्रपति पौडेलले भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र अप्ठ्यारो परिस्थितिलाई सुझबुझ, समन्वय र सहकार्यका कारण सम्हाल्न सफल भएको बताए।
उनले लोकतन्त्र र संविधानको भावना अनुरुप सुशासन, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘जेन–जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ,’ उनले भने, ‘सुधार गर्दै अघि बढ्ने अठोट गर्नु जरुरी छ।’ सम्बोधनमा राष्ट्रपति पौडेलले भदौ २३ र २४ गते भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
उक्त चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेन–जी प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
तपाईको प्रतिक्रिया दिनुहोस