राजीनामा फिर्तापछि अनेरास्ववियुमा विवाद, अध्यक्ष कडरियाविरुद्ध बागमतीका ६ जिल्लाको आपत्ति

नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा घोषणा गरेका थिए। तर केही दिनमै पुनः सामाजिक सञ्जालमार्फत नै सो राजीनामा फिर्ता गर्दै अध्यक्ष पदमा फर्किएको जानकारी गराए।
कडरियाको यो कदमले संगठनभित्र विवाद चुलिएको छ। बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र सम्बन्धित जिल्लाका इन्चार्जहरूले सामूहिक हस्ताक्षरसहित ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै संकटको बेला भाग्ने व्यक्तिलाई नेतृत्व स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उक्त पत्रमा आन्दोलनकै बीच राजीनामा दिने र आन्दोलन शान्त भएपछि पदमा फर्किन खोज्ने कदम संगठनको नियमविपरीत भएको उल्लेख छ। साथै, कडरियाको पछिल्लो आचरणले संगठनको इज्जत, विश्वसनीयता र भविष्यमा नकारात्मक असर पारेको दाबी गरिएको छ।
पत्रमा भनिएको छ, “संकटको समयमा नेतृत्वले संगठनलाई बलियो बनाउनुपर्नेमा उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, मौन बस्ने र व्यक्तिगत रूपमा निराशावादी सन्देश दिने प्रवृत्तिले संगठनलाई कमजोर बनाएको छ।”
त्यस्तै, महाधिवेशनबाट प्राप्त मतको अपमान गर्नु, विद्यार्थी आन्दोलनमा शहीद भएका कार्यकर्ताको योगदान अवमूल्यन गर्नु र संगठनलाई संकटमा पार्ने नेतृत्व अस्वीकार्य हुने उल्लेख गरिएको छ।
बागमती प्रदेशका नेताहरूले तत्काल बैठक बोलाएर संगठनलाई जिम्मेवार नेतृत्वको हातमा सुम्पिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस