महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने जिम्मा वरिष्ठ नेतालाई दिनुपर्छ - जनार्दन शर्मा

नेकपा (माओवादी) केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
आइतबारको पदाधिकारी बैठकमा शर्माले वरिष्ठ नेताको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर अघि बढ्नुपर्ने सुझाव राखेका हुन्। सोही बैठकमा अध्यक्ष प्रचण्डले पनि पार्टीका कमिटीहरू भंग गर्दै महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए। यो प्रस्ताव असोज ९ गते बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेछ। प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने पनि प्रस्ताव गरेका छन्।
शर्माले भने, “पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउन अध्यक्षसहित हामी सबै पदाधिकारीले आफ्नो पदबाट राजीनामा दिनुपर्दछ। महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने जिम्मा वरिष्ठ नेतालाई दिनुपर्छ।”
उनी विगतदेखि नै पार्टी पुनर्गठनबारे सक्रिय रहेकाले त्यसको स्मरण पनि गराए। उनले भने, “पार्टी पुनर्गठनको अनिवार्यता महसुस गरी मैले विगतमा उठाएका विषयलाई विभिन्न ढंगले आलोचना गरिएको थियो। ती विषयलाई समयमै आत्मसात् गरेको भए पार्टीको अवस्था आज यस्तो हुने थिएन।”
शर्माले पार्टी पुनर्गठनका लागि विचार, राजनीति, संरचना लगायत सबै क्षेत्र नयाँ ढंगले सुधार्नुपर्ने आवश्यकता औँल्याए। तर उनले विगतमा माओवादीले गरेको त्याग, बलिदान, अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको ‘जनयुद्ध’, जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा जस्ता उपलब्धिहरूको अवमूल्यन गर्नु नहुने पनि जोड दिएका छन् ।
उनी भन्छन्, “नेतृत्वले खेलेको भूमिका र गौरवको रक्षा नगरी आन्दोलनको रक्षा हुँदैन। नेतृत्व हस्तान्तरणको माग हामीले विगतमा पनि गरेका थियौं। आज आन्दोलनले ती मागलाई सही साबित गरेको छ। अब यथास्थितिमा पार्टी अगाडि बढ्न सक्ने अवस्था छैन।”
शर्माले महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्न, अध्यक्षसहित सबै पदाधिकारी राजनीतिक र वैचारिक काम गर्ने गरी निर्देशक कमिटी विधानमा व्यवस्था गरी अघि बढ्नुपर्ने बताएका छन्। यसले प्रचण्डको विगतको योगदानको सम्मान र वर्तमान आवश्यकता पूरा गर्ने विश्वास उनले व्यक्त गरे।
उनले भने, “गत केन्द्रीय कमिटीको निर्णयअनुसार मंसिरभित्र महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ पुस्तामा पुर्याउने र अध्यक्ष प्रचण्डसहितको कार्यकारी कमिटीलाई राजनीतिक–वैचारिक सहयोग गर्ने प्रतिबद्धता जरूरी छ।”
त्यस्तै, पार्टीभित्र र सरकार तथा जनप्रतिनिधि पदहरूमा व्यक्तिले कति पटक र कति समय पदमा रहन पाउने भन्ने विषयमा स्पष्ट नीति निर्माण गर्नुपर्ने उनले औँल्याए।
शर्माले नेतृत्व निर्माण प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत् हुनुपर्ने र पार्टी पुनर्गठनका लागि समाजको वर्गीय अवस्था, विविधता, राजनीतिक चेतना, नयाँ पुस्ताको माग र सपनालाई मध्यनजर गरेर विचार, राजनीति, संरचना र विधि नयाँ स्तरमा उकास्न महाधिवेशनबाट निष्कर्ष निकालिने बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस